नियमित अन्तराष्ट्रिय उडान आंशिकरुपमा खुला

नियमित अन्तराष्ट्रिय उडान आंशिकरुपमा खुला

नेपालमा कोरोना भाइरसको दोस्रो लहर आएसँगै सरकारले बन्द गरेको अन्तराष्ट्रिय हवाई उडान आंशिकरुपमा खुल्ने भएको छ । सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका कतार, चीन र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ । चार्टर उडान महँगो हुनुका साथै यात्रु ठगिने गुनासो बढेकाले हाललाई सिमित गन्तव्यको लागि भएपनि हप्तामा एक – एक दोहोरो नियमित उडान सुरु गर्न लागेको बताइएको छ ।

नियमित उडान सुरु भएसँगै अब नेपालबाट यात्रुले टर्कीको इस्तानबुल, कतारको दोहा र चीनको बिभिन्न एयरपोर्टमा ट्रान्जिट हुँदै यात्रा गर्न पाउने भएका छन् । नेपालबाट सिमित उडान सुरु गरिए पनि यात्रा गर्ने देशले क्वारेन्टाइन र कोरोना संक्रमण रोक्नका लागि लगाइएका नियमहरु भने हरेक यात्रुले अनिवार्य पालना गर्नु पर्ने छ । केहि देशहरुले नेपालमा बढेको कोरोना संक्रमणले गर्दा नेपाली यात्रुहरुलाई प्रतिबन्ध लगाएका कारणले गर्दा उडान सुरु भएपनि प्रतिबन्ध लगाएको देशमा यात्रा गर्न पाउने छैनन् ।

हाल नेपालबाट इण्डियाको नयाँ दिल्लीमा ‘एयर बबल’ अनुसार नेपाल एयरलाइन्स र एयर इण्डियाले हप्तामा एक – एक उडान गर्दै आएका छन् भने मेडिकल सामाग्री ओसारपसार, कार्गो र उद्धार उडानहरु हुँदै आएका छन् । नियमित उडानलाई थप व्यवस्थित गर्दा अन्य गन्तव्यमा पनि उडान सुचारु गर्ने सरकारको तयारी रहेको बुझिएको छ । आन्तरिक उडान तर्फ भने हाललाई कुनै निर्यण नभएको हुँदा अर्को निर्णय नहुँदासम्म नियमित आन्तरिक उडान बन्द नै रहने छन् ।

Comments

Facebook Comments